रेश मरहठ्ठालाई बंगाली फिल्ममा खेल्ने अफर

निर्माता रेश मरहठ्ठाको चर्चा यतिखेर बंगलादेशमा समेत व्यापक बनिरहेको छ । तीन हप्ता अघि अमेरिका गएका नायक रेश अहिले बंगलादेशमा छन् । शुक्रबार राति सम्पन्न भएको बंगलादेश सुपरमोडल प्रतियोगितामा निर्णायक मण्डल तथा फेसन शो स्टपर (Show Stopper) को रुपमा नेपालबाट उनलाई छानिएको थियो । उनीसँगै निर्णायक मण्डलमा बंगलादेशका चर्चित कलाकार र फिल्म निर्देशकहरुको समेत सहभागिता रहेको थियो ।

सुपरमोडल प्रतियोगितामा निर्णायक भूमिका निभाएका रेशको चर्चा यतिखेर बंगलादेशको फिल्म उद्योगमा समेत चलिरहेको छ । कार्यक्रममा सहभागी हुन गएका रेशलाई त्यहाँका फिल्म निर्माता र वितरकहरुले फिल्म खेल्ने अफर समेत दिएका छन् । उनले निर्माण गरेको चलचित्र च्यालेन्ज, नेशनल ट्रेजर र ११ (एलाभेन) स्ट्रीट बंगलादेशमा समेत रिलिज गर्ने सहमति बनेको छ । बंगलादेशका केही वितरकहरुले रेशका सबै फिल्महरु प्रदर्शन गर्ने बताएका छन् । रेशको अन्तर्राष्ट्रिय छवि तथा पर्सनालिटीका कारण आयोजक अपूर्व ईन्टरटेनमेन्टले उनलाई बोलाएको हो ।

अमेरिकामा आमाको उपचार गर्न गएका उनी सिधै अमेरिकाबाट गत अप्रिल ५ तारिखका दिन बंगलादेश आएका थिए । बंगलादेशी फ्यानहरुको माझमा घेरिएका रेशको चर्चा व्यापक बनिरहेको छ । उनलाई सुपर मोडल प्रतियोगितामा विशेष अतिथिका रुपमा बोलाईएको थियो । अन्तर्राष्ट्रिय स्तरको सुपर मोडल प्रतियोगितामा रेश नै पहिलो पटक नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी भएका हुन् । प्रतियोगितामा १८ देखि २४ वर्ष उमेरका महिला तथा पुरुष मोडलहरुले भाग लिएका थिए । अपूर्व ईन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ नसिफ रहमान र महिला मोडलतर्फ जाहारा मितुले उपाधि चुमेकी छिन् ।

नेपाली फिल्म उद्योगमा काम गरिसकेका रेशको चर्चा अहिले अन्तर्राष्ट्रिय स्तरमा समेत व्यापक बन्दै गईरहेको छ । केही समय अघि उनले बलिउडमा पारानर्मल नामक फिल्ममा भूमिका निभाएका थिए । उक्त फिल्म रिलिज हुने तयारीमा छ । एक वर्षअघि उनले सिंगापुरबाट एसियन युथ आईकन अवार्ड जितेका थिए भने अमेरिकाको किंग्स युनिभर्सिटीबाट डक्टरेट अर्थात् पिएचडी अवार्डबाट उनी सम्मानित भएका थिए । उता अष्ट्रेलियाको एक वाईन कम्पनीले उनलाई ब्राण्ड एम्बेस्डर समेत बनाएको छ । यसैको सिलसिलामा उनी यसअघि अष्ट्रेलिया भ्रमणमा गएका थिए ।

यी सबै किसिमको सम्मानबाट उनको उचाई अझै बढ्दै गएको देखिन्छ । जुन नेपाली फिल्म उद्योगको लागि गर्वको विषय हो । पछिल्लो समय धेरै फिल्म खेल्न नरुचाउने तर उनी दर्शक माझमा भने छुट्टै छाप छोड्न सफल छन् ।

Leave a comment